धरान । नेपाल चेम्बर अफ कमर्स हङ्कङको पहलमा नेपाली महावाणिज्य दूतावास हङ्कङ परिसरमा गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । 

केही दिनअघि कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी मूर्ति स्थापना गरिएको हो । 

बुद्धको प्रतिमा स्थापना समितिका संयोजक मनोज गौतमले दूतावासमा बुद्धको प्रतिमा स्थापनाले नेपालको पहिचान गराउनु रहेको बताए । उनले गौतम बुद्धका शान्ति, करुणा र सहिष्णुताका सन्देशलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवाह गर्न प्रतिमा स्थापना गरिएको उनले बताए । 

कार्यवाहक महावाणिज्यदूत गुरुङले दूतावासमा बुद्धको प्रतिमा स्थापना हुनुले सकारात्मक ऊर्जा प्रवाह हुनुका साथै ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश प्रवाह गर्न मद्दत पुग्ने बताए ।

नेपाल चेम्बर अफ कमर्स हङ्कङका अध्यक्ष शशीमदन राईले करिब ४० हजार हङ्कङ डलरको लागतमा बुद्धको प्रतिमा स्थापना गरिएको जानकारी दिएका छन् । 

कार्यक्रममा चेम्बरका उपाध्यक्ष धीराजकुमार साम्पाङ, चेम्बरका संरक्षक बेद खड्का, सल्लाहकारद्वय कुलप्रसाद गुरुङ र प्रितम श्रेष्ठ, नेपाली आदिवासी जनजाति महासङ्घ हङ्कङका अध्यक्ष एमबी थापा मगर, हङ्कङ नेपाली महासङ्घकी सल्लाहकार रीता गुरुङलगायत नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको चेम्बरका पदाधिकारी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको चेम्बरका सदस्य बज्रकुमार राईले जानकारी दिए । 

औपचारिक कार्यक्रमपछि बौद्ध धर्मगुरु खेन्पो कर्मा ग्याल्पो लामा र टासी लामाद्वारा बुद्धको प्रतिमामा विधिवत् प्राण प्रतिष्ठा गरिएको थियो ।