विराटनगर । झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रङ्गेली नगरपालिका–५ का वडाअध्यक्ष र एक जना वडासदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५५ वर्षीय वडाअध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय सदस्य गणेश ऋषिदेव रहेका छन् । उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार स्थानीय मनुवा कुमार महतोले अधनुनिया महतो आफ्नो आमा भएको दाबी गर्दै नागरिकताका लागि निवेदन दिएका थिए । सो विवरण झुटो भएको जानकारी हुँदा हुँदै वडाअध्यक्ष मण्डल र सदस्य ऋषिदेवले अङ्गीकृत नेपाली नागरिकता दिलाउन सर्जमिन मुचुल्कासहितको सिफारिस गरिदिएको आरोप छ ।

झुटो विवरणमा सिफारिस गरिएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले नागरिकता ऐन बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।