विजयपुर । धरानमा सञ्चालित तेस्रो मेयर कप स्कुल ओलम्पिक बास्केटबल प्रतियोगितामा धरान मेघा–हिमालयन स्कुल च्याम्पियन बनेको छ ।
बिहीबार हिमालयन स्कुलको कोर्टमा सम्पन्न फाइनल खेलमा केके इन्टरनेसनल स्कुललाई ५२–४८ को अन्तरले पराजित गरी मेघा–हिमालयन च्याम्पियन बनेको हो ।
खेलको पहिलो क्वाटरमा केके इन्टरनेसनलले ४ अङ्क जोड्दा मेघाले ३ अङ्क मात्र जोड्न सफल भयो । दोस्रो क्वाटरमा उत्कृष्ट पुनरागमन गर्दै मेघाले १५ अङ्क थप्यो भने केकेले १० अङ्क मात्र जोड्यो । तेस्रो क्वाटरमा मेघाले ६ अङ्क र केकेले ४ अङ्क जोडेका थिए । चौथो क्वाटरमा केके इन्टरनेसनलले आक्रामक खेल प्रदर्शन गर्दै १९ अङ्क बटुले पनि मेघाले १६ अङ्क जोड्दै आफ्नो अग्रता कायम राख्यो । निर्धारित समयमा दुवै समूहको स्कोर बराबर भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा मेघाले थप ८ अङ्क र केकेले ४ अङ्क जोडेपछि समग्रमा ५२–४८ को नतिजासहित मेघा विजयी भयो । प्रतियोगितामा डिपो स्कुल र जुनियर पायोनियर स्कुल तेस्रो बनेका छन् । हाईस्कोरर मेघा–हिमालयनका संगम ठाकुर घोषित भए ।
प्रतियोगिता धरान खेलकुद मञ्चको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको छ ।