भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।


कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको ६ करोड ३३ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको हो ।


पक्की पुल नहुँदा वर्षामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवतीलाई अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो । पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासी तेजबहादुर घलेले बताए ।


पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले ५० मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए । विसं २०८२ चैतमा निर्माण सम्पन्न भएर पुल सञ्चालनमा आएको हो । यो पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ लाई जोडेको छ । रासस