विराटनगर । कोशी प्रदेशसभाको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक’ माथिको छलफल सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ । आइतबारको बैठकमा असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल सकिएको हो ।
छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नरिन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डरी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ–आफ्नो धारणा राखे ।
बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौती देखिने किसिमको रहेको बताए ।
उनले उक्त बजेट त्रुटिपूर्ण रहेको भन्दै बजेटलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा सरकारसँग ठूलो चुनौती रहेकाले सदनबाट त्रुटि सच्याउने प्रस्ताव ल्याउनु उचित विकल्प हुने धारणा राखे । उनले कार्यान्वयनमा जान नसक्ने बजेट जनताको हितमा काम हुन नसक्ने दाबी गरे । नेता आङ्बोले विकास, समृद्धि, रोजगार र उत्पादनसँगै जनताको आवश्यकता पूरा गर्न किसिमको बजेट आउनुपर्नेमा जोड दिए ।
बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य मीना श्रेष्ठ, सविना बजगाईं र सपना दर्जीले प्रदेशको मौजुदा समस्याका बारेमा आ–आफ्नो धारणा राखे । रासस