इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि तथा पशुपालनमा आबद्ध किसानलाई व्यावसायिक कृषि प्रवद्र्धन र श्रम लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण सुरु गरेको छ ।
गाउँपालिकाले पशुपालक किसानलाई कुट्टी काट्ने मेसिन (च्यापकटर) तथा तरकारी र अन्य खेती गर्ने किसानलाई मिनी हाते ट्याक्टर वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए । उनका अनुसार सार्वजनिक सूचना जारी गरी प्राप्त आवेदनमध्ये तोकिएको मापदण्ड, वडाको सिफारिस तथा पाँच सदस्यीय छनोट समितिको सिफारिसका आधारमा स्थानीय किसान छनोट गरी सामग्री वितरण गरिएको हो ।
पहिलो चरणमा गाउँपालिकाका आठवटै वडाबाट तीन–तीन जना गरी २४ जना पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको अध्यक्ष अजादले बताए । यो कृषि शाखाको बजेटबाट सञ्चालन गरिएको हो ।
त्यसैगरी, साना किसानलाई लक्षित गरी तरकारी तथा अन्य खेतीका लागि ११ थान मिनी हाते ट्याक्टर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरिएको उनले बताए । अध्यक्ष अजादका अनुसार प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेट तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट विनियोजित रकम कृषिक्षेत्रमै सदुपयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो । यसअघि गाउँपालिकाले विभिन्न सहकारीमार्फत ६ सय किसानलाई विषादी छर्कने स्प्रेयर मेसिन र ८ सय किसानलाई ५० प्रतिशत अनुदानमा कोदालो वितरण गरिसकेको छ ।
स्थानीय किसानको माग र आवश्यकताअनुसार ३ सय ५० किसानलाई पानी तान्ने मोटर तथा बोरिङका लागि आवश्यक प्लास्टिक पाइप वितरण गर्ने तयारीसमेत गरिएको उनले बताए । मोटर वितरणमा ५० देखि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने विषयमा गाउँ कार्यपालिकाले निर्णय गर्ने र सोही निर्णयका आधारमा वडा कार्यालयको सिफारिसअनुसार किसानलाई सामग्री वितरण गरिने अध्यक्ष अजादले जानकारी दिए । रासस