काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्ले मुलुक र जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्ने बताएको छ।
काठमाडौँको चन्द्रागिरी–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवमा उनले कानुन निर्माणमा संसद्को मुख्य भूमिका रहेको उल्लेख गर्दै आवश्यकताअनुसार कानुन बनाइने बताए ।
कार्यक्रममा विद्यालयको चार दशकभन्दा लामो शैक्षिक यात्राको प्रशंसा गर्दै उनले विद्यालयको थप प्रगतिका लागि शुभकामना व्यक्त गरे। प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए भने प्रधानाध्यापक विष्णु पनेरुले गुणस्तरीय शिक्षाका लागि थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस