काठमाडौँ । मनसुन सुरु भएसँगै काठमाडौँ उपत्यकामा सडक डुबान फेरि दैनिक समस्याजस्तै बनेको छ । बिहान घाम लागे पनि साँझ एक्कासी हुने मुसलधारे वर्षापछि सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित हुने, यात्रु अलपत्र पर्ने र पैदलयात्री सुरक्षित बाटो खोज्न बाध्य हुने अवस्था दोहोरिन थालेको छ ।
गत बिहीबार साँझ कार्यालय र विद्यालयबाट घर फर्किने व्यस्त समयमा परेको वर्षापछि सिंहदरबार नजिकको माइतीघर, अनामनगर लगायतका क्षेत्र केही मिनेटमै जलमग्न भए । सडकमा सवारीसाधन रोकिए, यात्रु अलपत्र परे र दुईपाङ्ग्रे चालकहरूले डुबेका सडक तथा पानीमुनि लुकेका खाल्डाखुल्डीका कारण थप जोखिम बेहोर्नुपर्यो ।
विशेषज्ञहरूका अनुसार राजधानीमा भारी वर्षा नभए पनि अव्यवस्थित सहरीकरण, साँघुरा तथा अवरुद्ध ढल प्रणाली, नदी–खोलाको अतिक्रमण, सडक निर्माणका क्रममा पानी निकासलाई बेवास्ता गर्नु र बढ्दो कङ्क्रिट संरचनाका कारण वर्षाको पानी जमिनमा सोसिन नपाउँदा डुबानको समस्या बढ्दै गएको हो ।
ढल प्रणालीमा बढ्दो चाप
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार सडक डुबानको समस्या ठूलो वर्षाका कारण मात्र होइन, ढल प्रणालीमा बढ्दो चाप, प्लास्टिकजन्य फोहर र पूर्वाधार निर्माणबीच समन्वय अभावका कारण पनि जटिल बन्दै गएको छ ।
केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार समय–समयमा ढल सफाइ र मर्मत गरिए पनि प्लास्टिकका झोला, बोतल, प्याकेजिङ सामग्री तथा निर्माणजन्य फोहरका कारण ढल पटक–पटक जाम हुने गरेको छ ।
“ढल प्रणालीमा यस्ता फोहर जम्मा हुँदा पानीको बहाव अवरुद्ध हुने र सामान्य वर्षामा समेत सडकमा पानी जम्ने अवस्था सृजना हुने गरेको छ,” उनले भने, “उपत्यकाका धेरै स्थानमा खोलातर्फ बग्नुपर्ने ढलको पानी उल्टै सडकमा फैलिने समस्या देखिएको छ । हामीले बेलाबेलामा ढल सफा गर्ने काम गरिरहेका हुन्छौँ, तर प्लास्टिकजन्य फोहर र निर्माण सामग्रीका कारण फेरि पनि ढल जाम हुने समस्या दोहोरिन्छ ।”
राईका अनुसार मनसुनमा सडक विस्तार, मर्मत तथा अन्य निर्माण कार्यबाट बगेको माटो, बालुवा र धुलो ढलमा जम्मा हुँदा पानी निकास थप प्रभावित हुन्छ । सडक, ढल र अन्य सहरी पूर्वाधार निर्माण गर्ने निकायबीच पर्याप्त समन्वय नहुँदा समस्या बढेको उनको भनाइ छ ।
“कुन क्षेत्रमा कति क्षमताको ढल आवश्यक पर्छ भन्ने विषयमा सम्बन्धित निकायबीच समन्वय आवश्यक छ । आवश्यकताअनुसार ढलको आकार विस्तार गर्नुपर्ने अवस्था छ,” उनले भने । रासस