विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषध कारोबार तथा ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले सञ्चालित अभियानअन्तर्गत परिचालित प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ८० मिलिग्राम, गाँजा १ केजी ५ सय ६० ग्राम, ट्यापेन्टाडोल र ट्रामाडोल १०१ चक्की, नगद ३० हजार रुपैयाँ तथा एक थान मोटरसाइकल बरामद गरिएको छ ।


इलाका प्रहरी कार्यालय कटारी, उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सिन्धुलीको दुधौली नगरपालिका–१२ घर भई हाल उदयपुरको कटारी नगरपालिका–३ कान्छीबजारका २९ वर्षीय मिलन सुनुवारको घरमा खानतलासी गरेको थियो । उनका साथबाट ट्यापेन्टाडोल ९० चक्की, ट्रामाडोल ११ चक्की र नगद ३० हजार रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय सिद्धार्थ कुमार शाहको घरमा खानतलासी गर्दा १ केजी ५ सय ६० ग्राम गाँजासहित उनलाई नियन्त्रणमा लिएको छ ।


अस्थायी प्रहरी चौकी गरामनी, झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–९ मा चेकजाँचका क्रममा बिर्तामोड नगरपालिका–४ का २५ वर्षीय प्रदीप दाहालको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले उनलाई बा.प्र.–०२–००६ प.९९५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।


पक्राउ परेका तीनै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।