भोजपुर । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
सुन्तला, अलैँची तथा तरकारी खेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले किसानलाई कृषिमा थप उत्साहका साथ लाग्न प्रेरित गरेको छ । कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गत रहेको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गरिरहेको छ । यसअन्तर्गत नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वटा वडा समेटिएका छन् । त्यस्तै, सुन्तला खेती प्रवद्र्धनका लागि पाँच स्थानीय तहका २६ वडामा ‘सुन्तला जोन’ स्थापना गरिएको छ ।
जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार कार्यक्रममार्फत किसानलाई अनुदानसँगै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । चालु आर्थिक वर्षमा मात्र १ सय ९ जना किसानले विभिन्न शीर्षकमा अनुदान प्राप्त गरेका छन् । अनुदान कार्यक्रमको प्रभावले किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सुन्तला र अलैँची खेतीसँगै अन्य बालीमा पनि सहयोग विस्तार गरिँदा किसान व्यावसायिक कृषितर्फ उन्मुख हुँदै गएको देखिएको छ ।
कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत भोजपुर–५ की सङ्गीता श्रेष्ठ व्यावसायिक तरकारी तथा खुर्सानी खेती गरिरहेकी छन् । कार्यक्रमका लागि कार्यालयले चार लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने ५० प्रतिशत लागत साझेदारी किसान स्वयंले गरेका छन् । कार्यक्रममार्फत पाँच वटा कृषि फर्मलाई चार–चार लाख रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधानले कार्यालयबाट प्राप्त सहयोगले कृषिमा लाग्न थप प्रेरणा मिलेको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा अनुदान सहयोगमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुका साथै २० रोपनी क्षेत्रफलमा ५ सय वटा सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरका सरोकारवालाको सहभागितामा अन्तर–निकाय संयुक्त अनुगमनसमेत गरिएको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइएको बताए । कार्यालयबाट अनुदानमा सञ्चालन गरिएका कार्यक्रमले किसानलाई व्यावसायिक बन्न टेवा पुगेको उनको भनाइ छ ।
जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिशा खड्काका अनुसार कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका कार्यक्रम किसानका लागि लाभदायी सावित भएका छन् । यस्ता कार्यक्रमले किसानको आयआर्जन र जीविकोपार्जनमा महत्त्वपूर्ण टेवा पुर्याएको उनको भनाइ छ ।
कार्यालयले चालु आर्थिक वर्षमा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत ५४ जना किसानलाई अनुदान उपलब्ध गराएको छ । साथै, सुधारिएको आधुनिक अलैँची भट्टी जडान तथा निर्माण कार्यक्रमअन्तर्गत ३० वटा आधुनिक भट्टी वितरण गरिएको छ ।
सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान पाएका छन् । सिँचाइ पोखरी निर्माण, बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रीकरणमा सहयोग गरिएको छ ।
सुन्तला नर्सरी सुदृढीकरण, अलैँची नर्सरी स्रोत केन्द्र स्थापना, नमूना सुन्तला बगैँचा विकास, अलैँची बालीको छहारी व्यवस्थापन, कृषि यान्त्रीकरण तथा खाद्यतत्व सहयोग, कृषिजन्य तथा रैथाने बालीको प्रशोधन, लेबलिङ र बजारीकरण सहयोग, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास तथा चक्लाबन्दीमा आधारित खेती कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् । रैथाने बाली कार्यक्रमअन्तर्गत रामप्रसादराई–६ मा कोदोको बिस्कुट उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।
चक्लाबन्दीमा आधारित खेती कार्यक्रममार्फत चालु आर्थिक वर्षमा १ सय २ रोपनी क्षेत्रफलमा अलैँची खेती विस्तार गरिएको छ । यसका लागि ५५ हजार अलैँचीका बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबै कार्यक्रमको समग्र प्रभावले जिल्लामा कृषि उत्पादन वृद्धि हुनुका साथै किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुगेको छ । रासस