धनकुटा / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा प्रमुख राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ।
अविरल वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कोशी राजमार्ग, भेडेटार–रवि–राँके सडक तथा तमोर कोरिडोरमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाका अनुसार भेडेटार–रवि–राँके सडकखण्ड तथा मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर कोरिडोरमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ। कोशी राजमार्गमा भने सडकको अवस्थाअनुसार सवारी सञ्चालनलाई नियन्त्रण गरिने उनले बताए।
उनका अनुसार भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। तर भेडेटारबाट धनकुटातर्फ मात्रै आउने सवारीसाधनलाई भने रोक लगाइएको छैन।
जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचनाका आधारमा धनकुटासहित पूर्वी पहाडी जिल्लाहरूमा अत्यधिक वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत धमलाले जानकारी दिए।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै तीनै तहका सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
जोखिमयुक्त सडकमा पहिरो पन्छाउन आवश्यक पर्ने डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। पहिरो र बाढीको उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी पनि गरिएको प्रशासनले जनाएको छ।
प्रशासकीय अधिकृत धमलाले खोला, नदी र खहरे आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै आकस्मिक अवस्थाका लागि नेपाल प्रहरीको हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार र आइतबार धनकुटासहित पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा लगायत २३ जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।