विराटनगर । तेस्रो मुलुकबाट आयात हुने कच्चापदार्थ अब भारतको कोलकाता बन्दरगाहदेखि सिधै रेलमार्फत् विराटनगर भन्सारसम्म ल्याउन सकिने भएको छ ।
नेपाल–भारत पारवहन व्यवस्था अन्तर्गत पहिलोपटक सुरु भएको यस्तो औपचारिक कार्गो रेल सेवाको शुक्रबारदेखि सुरु गरिएको हो ।
कोलकाताबाट हिँडेको पहिलो रेल आज (आइतबार) विराटनगर आइपुग्नेछ । यस सेवा अन्तर्गत कोलकाता बन्दरगाहबाट स्वस्तिक आयल इन्डस्ट्रिजका लागि कच्चापदार्थ बोकेका ४० ओटा डब्बा भएका कन्टेनरसहितको रेल विराटनगरतर्फ प्रस्थान गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार रेल आजसम्ममा आइपुग्ने तालिका छ ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए । रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ, जसबाट ढुवानीको अवस्था वास्तविक समयमै (रियल टाइम) निगरानी गर्न सकिनेछ । यसले सुरक्षा र पारदर्शिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
यो सेवा भारत सरकारले नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत गरेको नीतिगत संशोधनपछि सम्भव भएको हो । भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी) ले ईसीटीएस सम्बन्धी नियम संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत् विराटनगरसम्म कार्गो ढुवानीको अनुमति दिएको थियो । यसअघि यस्तो सुविधा वीरगञ्जसम्म मात्र सीमित थियो ।
यसअघि २०८० जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बथनाहादेखि विराटनगर कस्टम यार्डसम्मको रेल सेवा उद्घाटन भए पनि नियमित सञ्चालनमा आउन सकेको थिएन । नयाँ व्यवस्थासँगै एकैपटक ४५ वटासम्म कन्टेनर रेलमार्फत् ल्याउन सकिनेछ ।
रेलबाट ढुवानी गर्दा सडक मार्गको तुलनामा लागत घट्ने, सुरक्षा बढ्ने र करिब २४ घण्टाभित्रै सामान आइपुग्ने भएकाले आयात प्रक्रिया प्रभावकारी हुने महावाणिज्यदूतावासले जनाएको छ । यसबाट बन्दरगाहमा लाग्ने डिटेन्सन र ढिलाइ शुल्क घट्ने तथा पूर्वी नेपालका उद्योगहरूको उत्पादन लागत कम भई प्रतिस्पर्धात्मक क्षमता बढ्ने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए ।