विजयपुर । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारीमा भएको मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार दर्लामी चोक (भूमि प्रशासन कार्यालय) नजिक मदन भण्डारी राजमार्गमा केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल माबोहाङले जानकारी दिए । उनका अनुसार सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किँदा झापाको दमक नगरपालिका निवासी ४५ वर्षीय गिरिराज शर्माको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।