रोल्पा । थवाङ गाउँपालिका–५ को बोटलबारामा भारी वर्षापछि आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्। पहिरोले कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन्।
प्रहरीका अनुसार पहिरोबाट सुरुमा १८ वर्षीया शान्ति पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको शव निकालिएको थियो। त्यसपछि ७१ वर्षीया एक वृद्धाको शव पनि फेला परेको छ। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्।
बुधबार साँझ करिब ८:४५ बजे घरमाथिको डाँडाबाट पहिरो खसेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय उवाबाट सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। पहिरो हटाउँदै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण क्षेत्रमा थप पहिरोको जोखिम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। बेपत्ताको खोजी जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।