तेहरान । अमेरिकी राष्ट्रपति ८८डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा अमेरिकाले पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेपछि८८ इरानले त्यसको खण्डन गरेको छ। इरानी अधिकारीहरूले जलडमरूमध्य अझै बन्द रहेको र आफ्ना सर्तहरू पूरा नभएसम्म त्यसलाई पुनः सञ्चालनमा नल्याइने बताएका छन्।

ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले रणनीतिक जलमार्गमा पूर्ण नियन्त्रण कायम गरेको बताएका थिए। उनले अमेरिकी नौसैनिक अभियानलाई “WALL OF STEEL” को संज्ञा दिँदै होर्मुजमा अमेरिकी उपस्थिति कायम रहने संकेत गरेका थिए।

अमेरिकी दाबीको जवाफ दिँदै इरानको  Persian Gulf Strait Authority (PGSA)ले त्यसबाट जलडमरूमध्यको वास्तविक अवस्था परिवर्तन नहुने जनाएको छ। संस्थाका अनुसार होर्मुज अझै बन्द अवस्थामा छ र इरानले अघि सारेका सर्तहरू पूरा नभएसम्म आवागमन खुला गरिने छैन।

विश्वको प्रमुख ऊर्जा तथा समुद्री व्यापार मार्गमध्ये एक मानिने होर्मुज बन्द हुँदा तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पर्न सक्ने चिन्ता बढेको छ। पछिल्लो तनावले तेलको मूल्य र समुद्री ढुवानीसम्बन्धी अनिश्चितता पनि बढाएको छ।

यसबीच अमेरिका र इरानबीच युद्ध अन्त्य तथा अस्थायी सम्झौता पुनः अघि बढाउने प्रयासमा ठोस प्रगति हुन सकेको छैन। इरानले अमेरिकाले यसअघि भएको अन्तरिम सम्झौताका प्रावधानमा फर्किनुपर्ने अडान राखेको छ। जलडमरूमध्यको विवादले दुई देशबीचको तनाव अझै उच्च रहेको संकेत गरेको छ।