धरान । भारतमा हुन लागेको १८ औँ ज्याम्बोरी (स्काउट भेला)का लागि नेपालबाट १५ जनाको टोली प्रस्थान गर्दै छन् । टोलीमा जानेमध्ये धरानका पाँचजनाको टोलीको शनिबार बिदाइ गरिएको छ ।
माउन्ट हर्मन एकेडेमीमा अध्ययरत तीन विद्यार्थीसहित धरान स्काउटका अध्यक्ष अनुप योञ्जन र प्रदेश १ स्काउटका सदस्य हेमन्त भण्डारीको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
कार्यक्रम ४ जनवरीदेखि सुरु भई १० जनवरीसम्म हुने जनाइएको छ । जसमा २२ वटा देशका करिब ३५ हजार स्काउटरहरू भेला हुने कन्टिनेन्ट लिडरसमेत रहेका प्रदेश १ स्काउट तदर्थ समितिका सदस्य हेमन्त भण्डारीले बताए ।
ज्याम्बोरी स्काउटको बृहत् भेला हो । जहाँ साहसिक, बौद्धिक, सांस्कृतिक तथा खेललगायतका क्रियाकलाप हुने स्काउटका धरान नगर अध्यक्ष योञ्जनले बताए । उनका अनुसार माउन्ट हर्मनबाट अभियान श्रेष्ठ, आयाम पाख्रिन र ओरियन उप्रेती सहभागी हुँदै छन् ।
नेपालको काठमाडौँ, सर्लाही, उदयपुर, सुनसरी र झापाको दमकबाट गरी कुल १५ जना प्रतिनिधिहरू ज्याम्बोरीमा सहभागी हुने उनले बताए । भारतको राजस्थानस्थित पालीमा ज्याम्बोरी हुन लागेको हो ।