बिहान उठ्न साथ मोबाइलको स्क्रिनमा औँला पुग्छ । फेसबुक खुल्छ । टाइमलाइनमा एकपछि अर्को पोस्ट देखिन्छ—व्यक्तिगत विवाद, आरोप–प्रत्यारोप, दुर्घटनाका दृश्य, उत्तेजक शीर्षक र अपुष्ट सूचना । केही सामग्रीले क्षणभरमै ध्यान तान्छन् अनि प्रश्न उठ्छ—हामी सूचना हेरिरहेका छौँ कि भ्युजका लागि बनाइएको तमासा ?

फेसबुकलगायत सामाजिक सञ्जालबाट आम्दानी गर्न सकिने भएपछि सामग्री उत्पादनको संस्कृतिमा ठूलो परिवर्तन आएको छ । हिजो विचार, सूचना र सिर्जना साझा गर्ने माध्यम अहिले धेरैका लागि आम्दानीको स्रोत बनेको छ । मोनिटाइजेसनले पत्रकार, कलाकार, लेखक, भिडियो निर्माता र अन्य सिर्जनाकर्तालाई आफ्‌नो श्रमको आर्थिक मूल्य पाउने अवसर दिएको छ । तर यही अवसरसँगै ‘जसरी पनि भ्युज ल्याउनुपर्छ’ भन्ने मानसिकता बढ्दै गएको छ । सामाजिक सञ्जालमा अहिले मानिसको ध्यान नै मुद्रा बनेको छ । धेरै भ्युज, प्रतिक्रिया र शेयरले सामग्रीको पहुँच बढाउँछ, पहुँचले आम्दानीको सम्भावना बढाउँछ । यही चक्रले सामग्रीको गुणस्तरभन्दा भ्युजको अंकलाई प्राथमिकता दिन थालेको छ ।

सामान्य घटनालाई बंग्याएर शीर्षक दिने, विवादलाई बढाइचढाइ प्रस्तुत गर्ने, भावनात्मक भाषा प्रयोग गर्ने र अपुष्ट सूचनालाई आकर्षक शैलीमा राख्ने प्रवृत्ति त्यसकै परिणाम हो । तर भ्युज धेरै हुनु र सामग्री राम्रो हुनु एउटै कुरा होइन । कुनै भिडियो लाखौँले हेर्न सक्छन तर समाजलाई उपयोगी सूचना नदिन सक्छन् । अर्कोतर्फ सीमित दर्शकले हेरेको सामग्रीले किसानलाई नयाँ प्रविधि सिकाउन, विद्यार्थीलाई अवसरबारे जानकारी दिन वा स्थानीय समस्यामाथि बहस सुरु गर्न सक्छ । दुर्घटना वा विपद्का बेला सहयोगका लागि हात बढ्नुपर्ने हो । तर कतिपय अवस्थामा मोबाइल पहिले निस्किन्छ । घटनास्थलको दृश्य खिचिन्छ र सामाजिक सञ्जालमा पोस्ट हुन्छ । सूचना दिनु र कसैको पीडालाई प्रदर्शन गर्नुबीच ठूलो अन्तर छ । मृत्यु, दुर्घटना, पारिवारिक विवाद वा व्यक्तिगत समस्यालाई सामग्री बनाउँदा पीडितको सम्मान र गोपनीयता बिर्सन मिल्दैन । हरेक घटना पोस्ट गर्न मिल्ने सामग्री होइन, हरेक पीडा सार्वजनिक प्रदर्शनका लागि पनि होइन ।

समाजमा सकारात्मक कामको कमी छैन । किसान नयाँ प्रविधि अपनाइरहेका छन, युवा गाउँमै व्यवसाय गरिरहेका छन, महिलाहरू उद्यममा लागेका छन् तर सकारात्मक काम बिस्तारै देखिन्छ, विवाद तुरुन्त फैलिन्छ । यही कारण सामाजिक सञ्जालमा वास्तविक समाजभन्दा धेरै नकारात्मक समाज देखिन सक्छ । हामीले जुन सामग्रीमा क्लिक गर्छौं, प्रतिक्रिया दिन्छौँ र सेयर गर्छौं, त्यसैको बजार बढ्छ । त्यसैले दर्शक पनि डिजिटल बजारको निर्माता हो । ठूला सहरमा एउटा पोस्ट केही समयपछि अर्को पोस्टले ढाक्न सक्छ । तर गाउँमा एउटै पोस्टले व्यक्तिको परिवार, व्यवसाय र सामाजिक प्रतिष्ठासम्म असर पुर्याउन सक्छ । अपुष्ट आरोप फैलाउन केही सेकेन्ड लाग्छ । त्यसबाट बिग्रिएको प्रतिष्ठा फर्काउन वर्षौं लाग्न सक्छ । पोस्ट मेटिए पनि त्यसको प्रभाव मेटिँदैन । यसैले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतासँगै सामाजिक जिम्मेवारी पनि जोडिएको छ ।

सामाजिक सञ्जालले स्थानीय पत्रकारितालाई ठूलो अवसर दिएको छ । समाचार केही मिनेटमै देश–विदेशसम्म पुग्न सक्छ । तर भ्युज र क्लिकको दबावले पत्रकारिताको मूल मूल्यलाई चुनौती दिएको छ । पत्रकारिताको आधार सत्य, तथ्य, सन्तुलन र सार्वजनिक हित हो । यदि शीर्षक तथ्यभन्दा क्लिकका लागि लेखिन थालियो, प्रतिक्रियाको संख्या समाचारभन्दा महत्त्वपूर्ण बन्न थाल्यो र सनसनीले सन्दर्भलाई जित्यो भने पत्रकारिता र सामान्य ‘कन्टेन्ट’ बीचको सीमा मेटिन सक्छ । पत्रकारिता बजारसँग जोडिन सक्छ, तर बजारका लागि आफ्‌नो विश्वसनीयता बेच्न हुँदैन ।

सामाजिक सञ्जालमा पूर्ण झुटभन्दा आधा सत्य अझ खतरनाक हुन्छ । साँचो घटनाको एउटा अंश लिइन्छ, त्यसमा अनुमान र भावनात्मक भाषा थपिन्छ अनि आकर्षक सामग्री बनाइन्छ । स्रोत नखोजी शीर्षक र भिडियोका आधारमा प्रतिक्रिया तथा शेयर गर्दा अपूर्ण सूचना तीव्र गतिमा फैलिन्छ । त्यसैले डिजिटल साक्षरता भनेको ‘फेक न्युज’ चिन्नु मात्र होइन, स्रोत, सन्दर्भ र सम्भावित प्रभावबारे सोच्नु पनि हो । फेसबुक मनिटाइजेसन आफैमा समस्या होइन । पत्रकार, कलाकार, लेखक, युवा सिर्जनाकर्ता वा स्थानीय सामग्री उत्पादकले आफ्‌नो श्रमबाट आम्दानी गर्नु सकारात्मक उपलब्धि हो । 

समस्या आम्दानीमा होइन, आम्दानीका लागि अपनाइने गलत बाटोमा हो । हरेक पोस्टअघि सिर्जनाकर्ताले आफँैलाई सोध्नुपर्ने प्रश्न छ—यो सामग्री सत्य छ ? स्रोत विश्वसनीय छ ? भ्युजका लागि अनावश्यक रूपमा उत्तेजक बनाइएको त छैन ? यसले कसैलाई अनावश्यक क्षति पुर्याउँछ ? र सबैभन्दा महत्त्वपूर्ण—यसबाट समाजले के पाउँछ ? एउटै मोबाइलबाट किसानलाई ज्ञान दिन, पर्यटनको सम्भावना देखाउन, स्थानीय समस्यामाथि बहस सुरु गर्न र प्रेरणादायी कथा संसारसम्म पुर्याउन सकिन्छ । त्यही मोबाइलबाट गलत सूचना फैलाउन र कसैको प्रतिष्ठामा चोट पुर्याउन पनि सक्छ । 

सामाजिक सञ्जालको सफलता केवल ‘कति भ्युज आयो ?’ भन्ने प्रश्नबाट मापन गरिनु हुँदैन । प्रश्न हुनुपर्छ—कति सही सूचना दियो, कति सकारात्मक प्रभाव पार्यो र कति मानिसलाई सोच्न बाध्य बनायो ? मनिटाइजेसनले पैसा दिन सक्छ, भ्युजले लोकप्रियता दिन सक्छ, फलोअरले परिचय दिन सक्छ । तर दीर्घकालीन रूपमा सिर्जनाकर्ताको सबैभन्दा ठूलो पुँजी विश्वास हो । भ्युज केही क्षणका लागि आउँछ, पैसा केही समयका लागि रहन्छ, जिम्मेवार सामग्रीले बनाएको विश्वास भने लामो समय टिक्छ । पैसा केही समयका लागि रहन्छ तर एउटा जिम्मेवार सामग्रीले समाजमा छोडेको सकारात्मक प्रभाव धेरै लामो समयसम्म रहन सक्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।