विजयपुर । सुनसरी प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ८ लाख रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको छ ।
ओसारपसारमा प्रयोग भएका तीन वटा मोटरसाइकल बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देख्नासाथ सामान र मोटरसाइकल छाडेर फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा अवैध रूपमा भन्सार छलीका सामान राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल परिचालन गरिएको थियो ।
को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका बरामद गरिएको हो । प्रहरीको आउने वित्तिकै घटनामा संलग्न व्यक्तिहरूले आफ्नो उपस्थिति थाहा पाएलगत्तै मोटरसाइकल र सामान छाडेर फरार भएका थिए । उनीहरू फरार भएपछि प्रहरीले घटनास्थलको घेराबन्दी गरी सामान र सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
प्रहरीले घटनास्थलबाट अन्दाजी ७ लाख ९५ हजार रुपैयाँ बराबरका ५४२ थान कुर्ता–सुरुवाल बरामद गरेको जनाएको छ । बरामद गरिएका कपडा तथा तीनवटै मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक मुचुल्का तयार गरिएको छ ।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाइएको छ । सेतुबन्ध पठाउने तयारी भइरहेको छ । भन्सार छलीमार्फत नेपाल भित्र्याइएका सामानको कारोबार नियन्त्रण गर्न प्रहरी र भन्सार कार्यालयले संयुक्त रूपमा निगरानी बढाइरहेको जनाइएको छ ।
घटनामा संलग्न भई फरार भएका व्यक्तिहरूको पहिचान खुलाउने तथा पक्राउ गर्ने उद्देश्यले खोजतलास र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।