विजयपुर । झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वडा सचिव साहले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु. १० हजार घुस लिइरहेको अवस्थामा वडा सचिव साहलाई गौरीगञ्ज–१ स्थित एक स्थानीय होटलबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगका अनुसार नियन्त्रणमा लिइएका साहमाथि थप अनुसन्धान भइरहेको छ। घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ।