विजयपुर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका मधुमेह रोग विशेषज्ञ डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) को शारीरिक गतिविधि कार्यान्वयन समितिमा चयन भएका छन् ।
विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संघहरूको छाता संस्था आईडीएफले मधुमेह तथा यसका जटिलताहरूको रोकथामका लागि शारीरिक गतिविधिको विश्वव्यापी प्रवद्र्धन गर्ने उद्देश्यले यो समिति गठन गरेको हो ।
उच्चस्तरीय समितिमा विश्वभरबाट चयन भएका शीर्ष १० विशेषज्ञमध्ये नेपालका तर्फबाट डा. यादवले प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । समितिले मधुमेह रोकथाम, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा नियमित शारीरिक गतिविधिको महत्त्वबारे विश्वव्यापी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श तथा रोकथामका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले मधुमेह नियन्त्रण, जनचेतना अभिवृद्धि र स्वस्थ जीवनशैली प्रवद्र्धनमा निरन्तर योगदान दिँदै आएका छन् ।