विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कफ्र्यु आदेश जारी गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार प्रदर्शनका क्रममा सुरक्षा अवस्था जटिल बन्दै गएपछि शान्ति–सुरक्षा कायम राख्न कफ्र्यु लागू गरिएको हो ।
आदेशअनुसार कफ्र्यु क्षेत्रको सीमा पूर्वतर्फ पकली चोक, पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि दुवैतर्फ २ सय मिटर क्षेत्रसम्म निर्धारण गरिएको छ । साथै, इनरुवा बजार क्षेत्रभित्र पर्ने सम्पूर्ण भूभागमा समेत कफ्र्यु लागू गरिएको प्रशासनले जनाएको छ ।
कफ्र्यु अवधिभर प्रभावित क्षेत्रमा सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ । साथै, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना, घेराउ तथा विरोधका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ ।
प्रशासनले कफ्र्यु आदेशको उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै सुरक्षा निकायलाई आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ । साथै, सर्वसाधारणलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न प्रशासनले आग्रह गरेको छ । सुनसरीका विभिन्न स्थानसहित मोरङमा पनि विरोधका कार्यक्रम भइरहेका छन् ।
मधेश प्रदेशमा भने अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय, मधेश प्रदेशले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु प्रसाद ढकालका अनुसार बिहान सिराहा, सप्तरी, सर्लाही, बारा, पर्सा, धनुषा लगायतका जिल्लामा सामान्य शान्तिपूर्ण र्याली निस्किएको र समाप्त भइसकेको बताए । उनले राजमार्गहरूमा सानो समूहले होहल्ला गरेको बताउँदै भने, “सम्झाई बुझाई पठायौं । अहिले विरोधका कार्यक्रम छैनन् ।”