विजयपुर । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा सुनसरीका सबै स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको छ ।
चिकित्सक संघ धरान शाखाले ऐक्यबद्धता जनाएको छ । मंगलबार संघले जिल्लाभित्रका सरकारी, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज, क्लिनिक तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा स्थगन गरेको हो ।
धरान शाखाका अध्यक्ष डा. अरुण कुमार सिंह र महासचिव डा. दिपेन्द्र मिश्रद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति, दोषीमाथि कानुनी कारबाही तथा कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
साउन ९ गते नारायणी अस्पतालमा उपचाररत बिरामीको विषयलाई लिएर डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो । घटनामा अस्पतालमा तोडफोडसमेत भएको र डा. रामको टाउकोमा गम्भीर चोट लागेको चिकित्सक संघले जनाएको छ ।
घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखबाट चिकित्सक संघका प्रतिनिधिमाथि गालीगलौज र दुर्व्यवहार गरिएको संघले जनाएको छ ।
नेपाल चिकित्सक संघले आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यवातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
आन्दोलनका कारण नियमित ओपीडी तथा अन्य गैर–आकस्मिक सेवा बन्द हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति चिकित्सक संघले क्षमायाचना गरेको छ । संघले आन्दोलनको जिम्मेवारी सरकारकै भएको जनाएको छ । संघले सर्वपक्षीय भेलापछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएको छ ।