विजयपुर । कोशी प्रदेशका तीन जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ। मोरङ, सुनसरी र झापामा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहबाट मात्रै प्रहरीले ४१८ किलो गाँजा बरामद गरेको छ। साउन २३ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकल जाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको गाँजा बरामद गरेको हो।

गाँजासहित कार चालक धरान–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ–५ की २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक मोरङ कटहरी–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरी पक्राउ परेका छन्।

यस्तै, सुनसरीकै धरान उपमहानगरपालिका–११ स्थित रिटिङ टोलबाट प्रहरीले ९३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान–१६ की २४ वर्षीया स्वास्तिका गुरुङ छन्।

मोरङको विराटनगर महानगरपालिका–१५, मण्ठा पोखरीबाट प्रहरीले १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित ३१ वर्षीय मोहमद हुसेनलाई पक्राउ गरेको छ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–८, सरस्वती टोलबाट ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–५ का २५ वर्षीय गणेश चौधरी र झापा मेचीनगर–११ धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशी रहेका छन्।