विजयपुर । कोशी प्रदेशका मोरङ, झापा र सुनसरीबाट प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न स्थानमा चेकजाँच तथा शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय प्रेमबहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै, प्रहरी चौकी रमाइलो, मोरङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का ३८ वर्षीय टंकप्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनको साथबाट प्रदेश १–०२–०४३ प ९९१६ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको भद्रपुर नगरपालिका–५ बाट वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगरसहित ३० वर्षीय सञ्जीव सहनीलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–६ घर भएका सहनी हाल बिर्तामोड नगरपालिका–३, बिर्ताबजारमा बस्दै आएका थिए ।
सुनसरीको इटहरी–२, पशुपती चोकबाट ७१० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा मोरङ मिर्गौलिया–९ का ३२ वर्षीय सुमन कार्की र इटहरी–२ का २१ वर्षीय सञ्जीव पौडेललाई पक्राउ गरेको हो।