धरान/ राजनीतिक भागबण्डाको नियुक्तिपछि मौलाएको भ्रष्टाचार, राजनीतिक विवाद, पदका लोभी, लाभ लिने मन्त्री र ठेकेदार कम्पनीबाट पाउने कमिसनका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था नाजुक हुनपुगेको छ । नेता र मन्त्रीहरूलाई ‘ब्रिफकेस’ बुझाएर प्रभावमा पारी उपकुलपति हुनेहरूले प्रतिष्ठान बिगारेको सरोकारवालाहरूले बताएका छन् ।

बिरामीको अत्यधिक चाप थेग्न नसकेर प्रतिष्ठानको अवस्था अहिले लथालिङ्ग छ । दैनिक ३ हजारदेखि ३ हजार ५ सय जनाको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेका छन् । प्रतिष्ठानले बिरामीको चाप थेग्न सकिरहेको छैन ।

तीनवर्ष अघिदेखि शुरु भएको भवन करिब २५ प्रतिशत निर्माण भएपछि रोकिएको मातृ तथा शिशु उपचार केन्द्र (एमसिएच) भवनसँगै क्यान्सर उपचार केन्द्र (अङ्कोलोजी), मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) का योजनाहरू पनि एकसाथ रोकिएका छन् । प्रतिष्ठानमा ४ सय शय्याको एमसिएच, २ सय शøयाको कार्डियोलोजी, दुईसय शय्याको अङ्कोलोजी योजना रहेका छन् । आकस्मिक कक्ष विस्तार, डाइलाइसिस, आइसियुु, पिआइसियुजस्ता सेवा विस्तार हुन सकिरहेका छैनन् ।

प्रतिष्ठानलाई सुधार गर्नुपर्छ भनेर बारम्बार भन्दै आएका स्थानीय बुद्धिजीवी सह–प्राध्यापक डा.राजेन्द्र शर्माले भने, ‘प्रतिष्ठान सुधार्नका लागि धेरै केही गर्नु पर्दैन । राजनीतिक नियुक्ति गर्ने चलनमा परिवर्तन मात्र गरिदिए पुग्छ ।’ उनका अनुसार व्यक्तिको लोभ र लाभले प्रतिष्ठान बिग्रेको हो । पद पाउने लोभमा राजनीतिक नियुक्तिका लागि दौडधुप गर्नेहरूले ब्रिफकेस लिएर मन्त्रालय धाउने र विभिन्न एजेन्सीहरू आर्थिक लाभ लिएर उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकजस्तो पद बाँडफाँड गर्ने चलनले प्रतिष्ठानको हालत नाजुक हुनपुगेको डा. शर्माले बताए ।

उनले भने, ‘प्रतिष्ठानलाई सुधार्न अब प्रतिष्ठानभित्रका कुनै पनि चिकित्सकलाई उपकुलपतिको जिम्मेवारी दिनु हुँदैन । किनकी प्रतिष्ठानजस्तो प्रतिष्ठा भएको स्वास्थ्य शैक्षिक संस्थाको उपकुलपति हुन हैसियत भएका योग्य व्यक्ति प्रतिष्ठानभित्र देखिएन ।’ उनले मन्त्रीलाई ब्रिफकेस नबुझाई मन, वचन र कर्मले योग्य, दक्ष र निष्ठावान व्यक्तिले मात्र प्रतिष्ठानको बेथिति सुधार्न सक्ने बताए ।

धरानका बैङ्कर्स तुलसी वस्तीले प्रतिष्ठानभित्र राजनीतिक खिचातानीले बढी भूमिका खेलेको बताए । उनले प्रतिष्ठानभित्रका पदाधिकारी र कर्मचारीमा इमान्दारिता कम भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘प्रतिष्ठानमा जागिर खाने कर्मचारी मात्र धेरै भए । ५० प्रतिशत कर्मचारीलाई बिदा दिएर अस्पताल चलाउन सक्ने योग्य दक्ष व्यवस्थापकीय क्षमता भएका इममान्दार जनशक्ति भर्ना गर्नु जरुरी छ ।’

धरानका अर्का बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ (बिए)ले प्रतिष्ठान सञ्चालन गर्नका लागि शिक्षा प्रशासनबाट कुनै विश्वविद्यालायबाट विज्ञता प्राप्त पदाधिकारी आवश्यक भएको बताए । उनले भने, ‘प्रतिष्ठानभित्रका भन्दा बाहिरका योग्य व्यक्तिलाई पदाधिकारी बनाउनु जरुरी छ ।’ धरान–१८ का वडाध्यक्ष प्रवीण राईले प्रतिष्ठान आफ्नो वडाभित्र भएकाले बढी चासो दिइरहेको बताए । उनले प्रतिष्ठानमा पदाधिकारीबीच बेमेल हुनु, कर्मचारीहरू आफ्नो स्वार्थअनुसार मात्र काम गर्नु, राजनीतिक खिचातानी, बन्द हड्ताल, कमिसनले प्रतिष्ठानलाई दिनदिनै धरासायी बनाएको बताए । उनले भने, ‘प्रतिष्ठानमा योग्य र दक्ष चिकित्सक छन् । तर व्यवस्थापकीय क्षेत्र कन्तविजोग छ ।

त्यहाँ भित्र मौलाएको बेथिति निर्मूल गर्नका लागि अब बाहिरबाटै पदाधिकारी ल्याउन दबाव सिर्जना गर्नुपर्ने अवस्था आएको छ । भित्रकैलाई पदाधिकारी बनाएमा सबै समकालीनजस्ता छन् । एकले भनेको कुरा अर्कोले नमान्ने, नटेर्ने हुँदा यस्तो अवस्था आएको हो ।’ उनले अख्तियारले प्रतिष्ठानका पदाधिकारी, कर्मचारीमाथि भ्रष्टाचार आरोपमा पक्राउ गरेर मुद्दा दायर गरे पनि पहिलेदेखि नै शुरु गरिएका आम जनसरोकार र बिरामी उपचारको क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विस्तार र निर्माण, आधुनिक उपकरण जडान गर्न बाधा अड्काउ फुकाउनु पर्ने बताए ।

उनले प्रतिष्ठानको महत्वाकांक्षी योजना सफल भएमा पूर्वका आमनागरिकले सस्तो, सुलभ र चाँडो उपचार सेवा पाउने भएकाले सरकारले त्यतातिर पनि ध्यान दिनुपर्ने बताए । प्रतिष्ठानभित्र कार्यरत केही चिकित्सकहरूले पनि सरकारले प्रतिष्ठानलाई प्राथमिकतामा राखेर तत्काल अधिकार सम्पन्न पदाधिकारी नियुक्ति प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिए ।

निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले एउटा व्यक्तिले मात्र प्रतिष्ठान सुधार गर्न नसक्ने भएकाले सामूहिकरूपमा प्रतिष्ठान सुधार्न लाग्नुपर्ने बताए । उनले भने, ‘खत्तम नै त भइसकेको छैन, सुधार्ने मौका अझै छ । ठूला योजनाहरूमध्ये एमसिएच भवन, एमआरआई उपकरणका लागि प्रक्रिया चल्दैछ । ढिलोचाँडो हुन्छ ।’