विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटा नगर बस सञ्चालनमा ल्याउने भएको छ । कोसी प्रदेश र लगानी बोर्डको सहयोगमा महानगरपालिकाले नगर बस सञ्चालन गर्ने तयारी गरेको हो ।

नगर बस सञ्चालनमा ल्याउन महानगरपालिकाको कार्यपालिका बैठकको निर्णयानुसार सञ्चालनमा ल्याउने तयारी गरिएको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । नगर बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताइन् । तीन महिनाभित्रमा विराटनगर महानगरपालिकाभित्र नगर बस सञ्चालनमा आउने उनले बताइन् ।

‘महानगरपालिकाको १९ वटै वडाभित्र नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ’ उनले भनिन्, ‘हरेक १०–१० मिनेटको अन्तरमा नगर बस चोकहरूमा आउनेछन् ।’ त्यसैको तयारी स्वरूप विराटनगर महानगरपालिकाले सम्भाव्य रुटहरूको बिहीबार परीक्षण पनि गरेको छ । अहिले चारवटा रुटहरू तय गरिएको छ । आवश्यकता अनुसार यी रुटहरू थपघट हुने बताइएको छ । दुईवटा ठूलो यात्रुवाहक बस र एउटा स्कारपियो लिएर महानगरपालिकाले विराटनगरको रुटहरूको  परीक्षण गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख कार्कीले यात्रुबहाक बसमा बसेर नगर बस सञ्चालन गर्ने रुटहरूको निरीक्षण गरेकी थिइन् । ‘नगर बस सञ्चालनका लागि रुटहरू पनि तयारी गरेका छौँ’ उनले भनिन्, ‘सवारी चालक र सह–चालकहरू नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि भाडा दर पनि कायम गरिनेछ ।’

नगर बस सञ्चालनमा ल्याएपछि सिटी सफारीको पनि व्यवस्थापन गरिने उनले बताइन् । नगर बस सञ्चालन भएपछि विराटनगर महानगरपालिकाभित्र सञ्चालन गरिने सिटी सफारीलाई पनि दर्ताको प्रक्रियामा लैजाने भएको छ । अहिले विराटनगर महानगरपालिकाभित्रका सवारी दर्ता भएका १ हजार १ सय वटा रहेका छन् ।

तर, यहाँ चार हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा रहेका छन् । अन्य सफारीलाई दर्ताको प्रक्रियामा लगेर व्यवस्थित रूपमा सञ्चालनमा लैजाने संयन्त्रको विकास गरिँदै आएको महानगरपालिकाले जनाएको छ । नगर बसले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको छ ।