भद्रपुर । भद्रपुरका मुआब्जा पीडितहरूले चैत्र ७ गतेसम्मको भाका राखेर ११ दिन यतावाट दिएको धर्ना स्थिगित गरेका छन् । सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेको तथा पीडितको माग सुनुवाइ नभएको भन्दै भद्रपुर भन्सारको मुख्य गेटमा मेची किनारका स्थानीयले फागुन ८ गतेबाट दवाब दिन मुख्य गेटमा धर्ना जारी राखेका थिए । 

 धर्नाका कारण  भन्सार कार्यालयको राजश्व सङ्कलनमा पुगेको ठूलो असरलाइ मध्यनजर गर्दै विहीबार राजनीतिक दलसहित वसेको भेलाले धर्ना कार्यक्रम स्थिगित गरेका हुन् । स्थानीय राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,युवा नागरिक समाज, झापा उद्योग वाणिज्य सङ्घ,व्यापार व्यवसायी,प्रहरी प्रशासन लगायतको उपस्थितिमा पीडितहरुले हस्ताक्षरसहितको पत्र सार्वजनिक गर्दै धर्ना कार्यक्रम स्थिगित गरेका थिए ।

उल्लेखित मितिसम्म  माग सुनुवाइ नभए ससक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पत्रमा उल्लेख गरिएको छ । उनीहरुले देशमा देखिएको राजनीतिक अस्थिरताको कारण समेत  पत्रमा उल्लेख गरेका छन् । 

पीडित पक्ष र राजनीतिक दल तथा सरोकारवालाको उपस्थितिमा धर्ना कार्यक्रम स्थिगित भएको भद्रपुर भन्सार प्रमुख अमित तिवारीले जनाए । मुआब्जाका विषयमा निरन्तर विभागसँग जानकारी लिइरहने उनले जनाए । धर्ना स्थगित भएसँगै भन्सारमा राजस्व सङ्कलन सुरु भएको उनले जनाए । विहिबार  करिव १० लाख राजस्व सङ्कलन हुने उनले जानकारी दिए ।    भन्सारको कामकाज ठप्प हुँदा दैनिक ८ देखि १० लाख रुपैयाँसम्म राजश्व असुली प्रभावित बनेको भन्सारले जनाएको थियो । 

सूचना निकालेको डेढ महिना बित्न लाग्दा समेत सम्बन्धित पक्षले जग्गाधनीहरूलाई रकम उपलब्ध नगराएपछि उनीहरू यस पटक दबाबमूलक रूपमै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रिएका उनीहरूको माग सम्बोधनका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायीहरूले पनि समर्थन जनाएका थिए । 

भन्सारले  कार्यालय सञ्चालनका लागि अधिग्रहण गरेको  जमिनको मुआब्जा तथा क्षतिपूर्ति वापत करिब ६० करोड रुपैयाँ वितरण गर्ने जनाएको थियो । भन्सारले जमिन रोक्का राखेको २८ महिनापछि सो रकम निर्धारण गरेको जनाएको थियो ।

झापा भद्रपुर ५ मा रहेको भद्रपुर भन्सार स्तरोन्नति गर्न भन्दै ०७७ साउन २७ गतेदेखि जिल्ला मालपोत तथा भूमि सुधार कार्यालयमा  जमिन रोक्का राख्ने पत्रिकामा सुचना प्रकाशित गरेको थियो । जमिन रोक्का  राखेपनि मुआब्जा निर्धारणमा ढिलाइ  गरेपछि जग्गाधनी विचल्लीमा परेका थिए । भद्रपुर नगरपालिका साविक २ र हाल वडा नम्बर ५ मा पर्ने जमिन अधिग्रहण गरिने घर जग्गाहरूको मुआब्जा निर्धारण गर्न जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम गठित समितिको बैठकले मिति २०७९ मङ्सिर २३ गते मुआब्जा तथा क्षतिपूर्तिको रकम निर्धारण गरेको हुँदा जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ बमोजिम सरोकारवाला सबैको जानकारी लागि सूचना प्रकाशन गरिएको प्रशासनको सूचनामा उल्लेख गरिएको थियो । सूचना १०९ वटा कित्ता रहेको जग्गाधनीका लागि जमिन र घर टहराको छुट्टाछुट्टै मूल्याङ्कन गरी रकम समेत तोकिएको थियो । 

भन्सार विभागले २०७६ बैशाख १७ गते हाल रहेको भन्सार कार्यालयलाई सार्ने गरी उत्तरपट्टिको स्थानीयको नम्बरी जमिन अधिग्रहण गर्ने निर्णय गरेको थियो । भद्रपुर–गलगलिया सीमा नाका जोड्ने मेची पुल सञ्चालनमा आए लगत्तै सरकारले २०७५ भदौ १ गतेदेखि छोटी भन्सारबाट स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सारमा परिणत गरिसकेको छ । पुरानै संरचनामा मूल भन्सार कार्यालयमा परिणत गरेपछि भन्सार विभागले भद्रपुर भन्सारको विस्तारसँगै नयाँ भौतिक संरचना निर्माणका लागि जमिन खोज्न शुरु गरेको थियो । उल्लेखित जमिनलाइ ६ भागमा विभाजन गरी रकम निर्धारण गरिएको जनाइएको थियो ।