धनकुटा । यो वर्ष माझी समुदायमा शान्ती, प्रगती र उन्नतीकोे कामना गर्दै धनकुटा नगरपालिका वडा नं.९ छिम्सुवा र सहिदभुमी गाउँपालिका–७ साप्तीङ्गटारका २५ घर माझी समुदायले मंगलवार तमोर नदी पुजा गरेका छन् । 

माझी समुदायका पुजारी मंगले माझी र हर्कवहादुर माझीले तमोर नदीको तिर साप्तीङटारमा तमोर बाचालाई बोका र जल सिकारीलाई कुखुरा चल्ला एक जोडी, र अण्डा एक जोडी वली दिएर पुजाआजा गरेका छन् । साप्तीङ्गटार र छिम्सुवामा रहेका २५ घर माझी सुमदाय मिलेर यो वर्ष तमोर नदीमा सामुहिक पुजा गरेका हुन् । 

माझी समुदायकी अगुवा पवित्रा माझीले भनीन् ‘तमोर गरतिरमा रहेका सदाम, कुसेटार, भैसे, सदाम, याक्चाना, छरुवा, साप्तीङ्ग, छिम्सुवा, चिम्राहाका माझी समुदायले परापुर्वकाल देखी नै कोशी पुजा गर्ने गरेकोले यस पटक पनि गरिएको हो ।’ उनले पुजा गर्दा सामुहिक रुपमा गरिने भएकाले पुजा सामाग्री पनि सामुहिक नै खरिद गर्ने गरेको वताईन । उनले भनिन्–‘कतिपयले माझीले भने घरको निजि आफ्नो भाकल गर्ने गरेको र सोही अनुसार पुजा गर्ने गरेका छन् ।’ हरेक वर्ष आ–आफ्नो क्षेत्रमा माझी समुदाय भेला भएर कोशी पुजा गर्ने परम्परा रहे अनुसार यो वर्ष पनि गरिएको हो । 

कोशी पुजा सकिएपछि माझी समुदायका पुजारीले पुजामा सहभागी सवैलाई टिका लगाई दिएर आशिवार्द दिने÷लिने प्रचलन रहेको छ । पुजारीवाट टिका ग्रहण गरेसंगै सहभागी माझी परिवारका सदस्यहरुले पुजारीलाई भेटी चढाएर शिर उठाउने चलन समेत रहेको छ । माझी परिवारले आफ्ना पुजारीलाई शिर उठाउनी स्वरुप आफ्नो गच्छे अनुसार भेटी चढाउने चनल परापुर्वकाल देखी रहीरहेको अगुवा पवित्रा माझीले वताईन । 

कोशी पुजासंगै पुजारीवाट टिका ग्रहण गरि सके पछि पुजाको प्रसाद एक आपसमा वाँडेर खाने गर्छन । प्रसाद खाई सकेपछि माझीको ढोलकी र मादल वजाएर हाक्पारे भाकामा माझी सुमदायको युवा युवतीहरु एक अर्कामा हाँसखेल गर्दै नाच्ने रमाउने गर्दछन् । कतिपय माझी समुदायका तरुणी तन्देरीहरु भने दोहोरी गाउँने र एक अर्कामा माया पिरती साटासाट समेत गर्ने गरेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पुर्व अध्यक्ष एवं तमोर रिभर साईड रिसोर्टका संचालक मोहन वान्तावा राईले वताएका छन् । 

वान्तावाले भने–‘आफु मुलघाट र आसपासका माझी समुदायले हरेक वर्ष आयोजना गर्ने कोशी पुजामा सहभागी हुने गरेको अनुभव सुनाउँदै कोशी पुजामा विशेष गरेर माझी समुदायका युवा युवतीहरु हाँसखेल गरेर रमाउने गर्छन ।’ आफुलाई पनि रमाईलो लाग्ने गरेकाले कोशी पुजामा यो वर्ष पनि निमन्त्रण पाएकाले आएको वान्तावाले वताए ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनुकटाका अध्यक्ष सन्जय सन्तोषी राईले कोशी पुजा माझी समुदायको परम्परागत साँस्कृतिक एवं धार्मिक आस्थाको रुपमा हुने प्राकृतिक पुजा भएको वताएका छन् । उनले अन्य आदिवासी जनजाति समुदायले जस्तै माझी समुदाय पनि प्रकृति पुजक भएको राईको भनाई थियो । उनले धनकुटा जिल्लामा कुल ७२ प्रतिसत आदिवासी जनजातिहरुको जनसंख्या मध्ये माझी जाति ०.४३ प्रतिसत रहेको वताएका छन् । 

जिल्लाको साँगुरीगढीको कुसेटार, सदामटार, चौविसे गाउँपालिकाको भैसेटार, ,शहिदभुमी गाउँपालिकाको सापताङ्गटार, धनकुटा नगरपालिकाको छिम्सुवाटार, पाख्रीवास नगरपालिका र महालक्ष्मी नगरपालिकाको लेगुवा लगायत तमोर र अरुण नदीले छुने विभिन्न वडामा माझी जाति छरिएर वसोवास गरिरहेका छन् । माझी जाति धनकुटा जिल्लामा अति सिमान्तकृत अल्पसंख्यक जातिको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व अध्यक्ष पार्वती राईले वताएकी छन् । 

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघिय समिति सदस्य विदुर खवास, प्रदेश अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघ धनकुटाका निवर्तमान कोषाध्यक्ष नारयण आठपहरिया लगायतको उपस्थिति रहेको थियो ।