धरान । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा सङ्गठनको धरान एकाइले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरूलाई राहत सामग्री वितरण गरेको  छ ।

सङ्गठनले धरानको छाता चोकस्थित अपाङ्गता भएका व्यक्तिहरूलाई ८ बोरा चामल, धरान–१६ स्थित सुस्त मनस्थिति भएका भाइबहिनीहरूलाई ४ बोरा चामल, बहिरा सङ्घलाई ४ बोरा चामल तथा धरान–३ स्थित अनाथ आश्रमलाई ८ बोरा चामल वितरण गरेको जनाएको सङ्गठनका अध्यक्ष किरण थापाले जानकारी दिए ।

यसैगरी सङ्गठनले धरान–१५ निवासी अग्रज मजदुर नेतृ आशा राईको निवासमा पुगेर स्वास्थ्य अवस्था तथा पारिवारिक अवस्थाबारे जानकारी लिँदै ३ बोरा चामल र दाल सहयोग गरेको छ । त्यस्तै, सङ्गठनका साधारण सदस्य पुण्य प्याकुरेल, जो लामो समयदेखि बेडमै जीवन बिताइरहेका छन्, उनलाई पनि ३ बोरा चामल, दाल र साबुन उपलब्ध गराइएको सङ्गठनले जनाएको छ ।

सङ्गठनका प्रतिनिधिहरूले धरान बालिका माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक इन्द्रबहादुर राईको निवासमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँको संयोजनमा राहत वितरण गरिएको थियो । ३६ बोरा चामल वितरण गरिएको सङ्गठनले जनाएको छ ।

३९ युनिट रगत सङ्कलन
आफ्नो वार्षिक उत्सवको अवसरमा मङ्गलबार धरानको भानुचोकमा भएको रक्तदानमा ३९ युनिट रगत सङ्कलन भएको छ । सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) सचिवालय सदस्य मोतिराज सुनुवारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यातायात मजदुरहरूले गरेको ८ वटा प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिएको थियो । केन्द्रीय सदस्य बानियाँका अनुसार मादक पदार्थ सेवन गरेर सवारी नचलाइने, यात्रुहरूसँग नम्र व्यवहार गरिनेलगायतका प्रतिबद्धता उल्लेख गरिएको थियो ।