वराहक्षेत्र । चतराबाट वराहक्षेत्र मन्दिर पुग्ने सडकमा पहिरो गएका कारण तीन दिनदेखि आवत–जावत ठप्प भएको छ ।
धनसार खोलामा शनिबार पहिरो गएका कारण वराहक्षेत्रको माथिल्लो क्षेत्रका नागरिक आउजाउमा समस्या भएको हो । मन्दिर क्षेत्रमा करिब ७ सय जति जनसङ्ख्या रहेको छ । बाटो थुनिएका कारण दैनिक उपभोग्य सामग्री समस्या भएको स्थानीयले बताए । बाटो नखुल्ने हो भने दैनिक उपभोग्य सामग्रीको सङ्कट हुनसक्ने वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।
स्थानीयका अनुसार धनसार खोला, बाहुनी खोला क्षेत्रमा बर्सेनि पहिरो गइरहन्छ । तमोर कोरिडोरअन्तर्गत धनसार खोलामा पक्की पुल निर्माण हुन थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको अध्यक्ष श्रेष्ठले बताए ।
पहिरोका कारण अध्ययनका लागि जाने विद्यार्थीहरूलाई पनि समस्या हुन थालेको बताइएको छ । यस्तै वडा नम्बर १ को सूर्यकुन्ड मिलनचौक सडकमा समेत पहिरो गएको छ । यसबारे नगर प्रमुख रमेश कार्कीले सूर्यकुण्ड जाने बाटो मर्मतका लागि मेसिन पठाइएको बताए । यस्तै धनसार खोलाको पहिरो हटाएर बाटो सञ्चालन हुने उनले बताए ।