विजयपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को ग्रेडवृद्धि परीक्षामा ६४ दशमलव ६८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएको जनाएको छ ।


मंगलबार बोर्डले गरेको पूरक परीक्षाको नतिजाअनुसार परीक्षामा ८३ हजार ५ सय २३ जना अर्थात् ६४ दशमलव ६८ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएका हुन् । असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी हुन एक लाख ४६ हजार ५०७ परीक्षार्थीले आवेदन दिएकोमा एक लाख २९ हजार १ सय १४ जना परीक्षार्थी मात्रै सहभागी भएको बोर्डले जनाएको छ ।


परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्ने उल्लेख गरिएको छ । नतिजा हेर्न सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ ।


परीक्षार्थीको नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्नेछन् ।