विजयपुर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।


पक्राउ परेकाहरूको साथबाट १२३ ग्राम ४३४ मिलिग्राम ब्राउन सुगर तथा दुई वटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय विवेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर तथा प्र.१–०१–०१३ प ५२ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।


वडा प्रहरी कार्यालय भद्रपुरले अर्जुनधारा–९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । मोरङमा अस्थायी प्रहरी चौकी डाम्राभिट्टाको टोलीले रतुवामाई नगरपालिका–८ का २९ वर्षीय मोहन बास्कीलाई २ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यस्तै प्रहरी चौकी रमाइलोले बेलबारी नगरपालिका–११ का २९ वर्षीय रणध्वज राईलाई ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर र प्र.१–०२–०४४ प.११८ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।


सुनसरीको प्रहरी चौकी नरसिंहटप्पुको टोलीले धनकुटा–१ घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय मनबहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । थापाको साथबाट बरामद भएको लागूऔषध सबैभन्दा धेरै परिमाणको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।