धरान । सुनसरी वराहक्षेत्रको स्वर्णिम साहित्य समाजले गजलकार रोमु अधिकारीको एकल गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

अधिकारीले आफ्ना दुई दर्जन गजल वाचन गरेका थिए । उनले गजलसँगै गजल लेखनमा आएका आरोहअवरोधबारे अनुभव पनि सुनाए । उनको गजलमा स्रोताहरू मुग्ध भएका थिए । उनले त्यसक्रममा आफ्नो गजल ‘आउ माया गर भनीभनी के माया गर्नु ? माया बुटी हो र सञ्जीवनी ? के माया गर्नु ?’ भनी गजलका सेरहरू सुनाउँदा श्रोताहरू मुग्ध भएका थिए ।

त्यस्तै गजलकार युवराज ठकुरी, अच्यूत भट्टराई र ज्ञानु राईले पनि गजल वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र–३ का वडाध्यक्ष राजदीप लामाले समाजको मिहिनेत, निरन्तरता र सफलताका कारण यहाँसम्म आइपुगेको बताए । उनले साहित्य र सिर्जनालाई सधैँ साथ दिने बताए ।

कवि तथा समाजका अध्यक्ष प्रकाश दिप्साली राईले कवि तथा लेखकहरूमा धैर्यता हुन जरुरी रहेको बताए । उनले साहित्य सिर्जना र समाजले दिएको जिम्मेवारीबाट आफू कहिल्यै विचलित नहुने बताए । यसैबीच समाजले आफ्नो लोगोअङ्कित नयाँ टिर्सट सार्वजनिक गरेको छ ।

वराहक्षेत्र–३ को वडा कार्यालयमा गरिएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष लामा, टिसर्ट सौजन्य लक्ष्मी कङ्क्रिट उद्योगका सञ्चालक गुरुप्रसाद धमला र प्रबन्ध निर्देशक प्रदीप चौधरी र समाजका अध्यक्ष प्रकाश दिप्साली राईले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । अध्यक्ष राईले सौजन्यदाता लक्ष्मी कङ्क्रिट उद्योगलाई धन्यवाद दिए ।

उद्योगका प्रबन्ध निर्देशक चौधरीले व्यवसायको सानो हिस्सा साहित्य सिर्जनामा लगानी गर्न पाएकोमा खुसी लागेको बताए । उनले वराहक्षेत्रको गौरवको रूपमा रहेको समाजले राष्ट्रियस्तरमा परिचित हुँदै गएकोमा खुसी लागेको बताए । कार्यक्रमको सञ्चालन समाजका सचिव लक्ष्मण कटुवालले गरेका थिए ।