विराटनगर । ऋणको सावाँभन्दा तीनगुणा बढी रकम तिरिसक्दा पनि जग्गा फिर्ता नपाएको र उल्टै साहुबाट धम्की खेप्नुपरेपछि आत्महत्या गरेकी विराटनगर–१४ महत टोलकी ५३ वर्षीया शान्तिदेवी महतोको परिवार र जिल्ला प्रशासन कार्यालय मोरङबीच ५ बुँदे सहमति भएको छ ।

सहमतिसँगै ८ असारदेखि प्रशासनको मूल गेटमा धर्ना दिइरहेका आफन्त र अधिकारकर्मीले आन्दोलन स्थगित गरेका छन् । मङ्गलबार भएको वार्तामा प्रशासनले पीडित परिवारलाई न्याय दिने र दोषीलाई कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि परिवारले कोशी अस्पतालमा रहेको शव बुझ्न सहमति जनाएका हुन् ।

१ लाख ५० हजारको ऋण, जो काल बन्यो

घटनाको शृङ्खला ११ वर्षअघि सुरु हुन्छ ।  २०७२ असोज ११ गते माइली छोरी सोनीको भाँचिएको खुट्टा उपचार गर्न शान्तिदेवीले स्थानीय अम्बिका भनिने अमरिकाकुमारी रायसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋणको बदलामा उनले आफ्नो १० धुर जग्गा रायको नाममा नामसारी गरिदिएकी थिइन् ।

शान्तिदेवीले समयक्रममा रायलाई ९० हजार रुपैयाँ ब्याज मात्र बुझाइसकेकी थिइन् । तर, रायले जग्गा फिर्ता गर्नुको साटो विराटनगर–१४ कै श्रीनारायण गुप्ताकी पत्नी सुन्दरी गुप्ताको नाममा सोही जग्गा बिक्री गरिदिइन् । जग्गा जोगाउन शान्तिदेवीले विभिन्न सहकारीबाट ऋण काढेर गुप्ता परिवारलाई ४ लाख ६५ हजार रुपैयाँ बुझाए पनि जग्गा फिर्ता भएन । बरु गुप्ता परिवारले उनीविरुद्ध अदालतमा मुद्दा हालेर मानसिक सास्ती दिन थाले ।

गत वैशाख ६ गते गुप्ता परिवारले घरमै पुगेर जग्गा खाली गर्न र ज्यान मार्ने धम्की दिएपछि विक्षिप्त बनेकी शान्तिदेवीले भोलिपल्ट वैशाख ७ गते आत्महत्या गरेकी थिइन् । “हामीले साढे ४ लाख तिरिसक्यौँ, तर जग्गा पनि पाइएन, आमा पनि रहनुभएन” –मृतकका श्रीमान् भोमा महतोले गहभरि आँसु पार्दै भने ।

पाँच बुँदे सहमति

जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र पीडित पक्षबीच भएको सहमतिमा घटनाको निष्पक्ष छानबिन गर्ने पहिलो बुँदामा उल्लेख छ । यस्तै, मृतकका पति भोमा महतोलाई योग्यताका आधारमा रोजगारीका लागि उद्योग वाणिज्य सङ्घ मोरङसँग पहल गर्ने र मृतकका दुई छोरीको माध्यमिक तहसम्मको शिक्षाका लागि प्याब्सन मोरङमार्फत् छात्रवृत्तिको व्यवस्था गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उच्च शिक्षाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने र मिटरब्याजसम्बन्धी कानूनी जटिलता फुकाउन पहल गर्ने सहमतिमा उल्लेख छ ।

विराटनगर–१४ का वडाध्यक्ष सूर्यनारायण महतोले विपन्न नागरिकमाथि भएको यो चरम् शोषण भएको बताए । “गरिबलाई यसरी पिल्साउन पाइँदैन, दोषीले सजाय पाउनैपर्छ” –उनले भने ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा श्रीनारायण गुप्ता र उनका छोरा अमन गुप्तालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । सुन्दरी गुप्तालाई भने स्वास्थ्य अवस्थाका कारण हाल हाजिर जमानीमा छाडिएको छ ।