धरान । नयाँ आर्थिक वर्ष सुरु भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणमा सक्रियता बढाएको छ । साउन महिनाको पहिलो पाँच दिनमै आयोगले चारवटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ भने घूससहित दुई सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगको वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिअनुसार साउन ५ देखि ९ गतेसम्म सार्वजनिक भएका कारबाहीमा १७ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । साथै घुस लिँदै गरेका दुई कर्मचारीलाई ‘स्टिङ अपरेसन’ मार्फत् नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार घूससहित शनिबार उनको क्वार्टरबाटै पक्राउ परेका छन् ।
यस्तै मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापासहित ७ जना तथा बिकोई÷धुलिखेल जेभी विरुद्ध सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा साउन ८ गते मुद्दा दायर गरिएको छ ।
यस्तै साउन ७ गते कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमसहित १० जनाविरुद्ध गैरकानूनी लाभ वा हानि पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
साउन ६ गते नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा र कम्पनीका प्रमुख प्रेमप्रकाश ढकालविरुद्ध घूस तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसूरमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
साउन महिनामा आयोगले दुईवटा स्टिङ अपरेसन सञ्चालन गरेको छ । काठमाडौँ महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय, लहान का कर अधिकृत युवराज एमएस पाल लाई रु. ५ लाख घुस रकमसहित नियन्त्रणमा लिइएको छ ।
यस अवधिमा आयोगले विशेष अदालतका तीनवटा फैसलाप्रति असहमति जनाउँदै राजीवकुमार सिंह, तिलक आले र रामलोचन मण्डलसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।